काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल संगठनकर्ता भएको बताएका छन् ।
कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको ९८औँ जन्मजयन्तीको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले बिहीबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रको लागि संघर्ष’ विषयक भर्चुअल अन्तरक्रियामा उनले गाउँगाउँमा पुगेर पार्टीको संगठन विस्तार गर्ने नेता गिरिजा भएको बताएका हुन् ।
“लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि, सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका स्व.कोइराला क्रान्तिकारी र परिवर्तनशील नेता हुनुहुन्थ्यो,” उनले भने ।
वामपन्थी नेता एवम् पूर्वउपप्रधानमन्त्री अमिक शेरचनलले कांग्रेस र कम्युनिस्टबीच रहेको अन्तरविरोधलाई अन्त्य गर्न गिरिजाको महत्वपूर्ण योगदान रहेको बताए ।
लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाले बोलेको कुरालाई अक्षरश पालना गर्ने प्रतिबद्ध र इमान्दारी नेता भएको स्मरण गरे । “१२ बुँदे सहमति र गणतन्त्र स्थापना भारत सरकारका पहलमा भएको भन्ने कुरा हल्ला मात्र हो,” उनले भने ।