सरकारको लोकप्रियता झन् बढ्दै छ : प्रधानमन्त्री ओली

316

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् ।

बुधबार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिकरुपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन् ।

“योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्ष र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ,” ओलीले भने ।

बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको पनि उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने,“राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरुको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लागेका थियौँ । विकास गर्दै लगेको थियौँ । इतिहासमा पहिले कहिल्यै नभएका ठूला–ठूला सकरात्मक लक्ष्यहरु प्रकट भएका थिए ।”

उनले सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्दा ढंगले प्रकट हुँदै आएको टिप्पणी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...