ओलीको आरोप : विरोधीसँग साँठगाँठ गरेर सरकारलाई बदनाम गर्ने खेल खेले

507

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साँठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साँठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका हुन् । उनले विकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे ।

ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफू अनुकुल प्रयोग मात्र गरेको तर्क गरे । एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले विकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे । उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको दाबी गरे ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि विघटन गर्न बाध्य भएको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...