काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई बोलाएको छ । आयोगले असार २२ गते बिहान ११ बजे अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई पक्षलाई सहमतिका लागि बोलाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको जानकारी दिए ।
जसपा अध्यक्ष ठाकुर र यादव दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् । ठाकुर पक्षले यादवलाई पार्टीबाट निष्कासन गरेको छ भने यादव पक्षले पनि ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् ।
५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन् ।