काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सरकारी पक्षको बहस र लिखित जबाफमाथि प्रश्न उठाएका छन् ।
सरकारी पक्षले लिखित जबाफ र बहसका क्रममा राजनीतिक अस्थिरताको कारण अदालतका फैसला भएको टिप्पणी गरेपछि न्यायाधीश खतिवडाले बहसमा आएका नायब महान्याधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो जिज्ञासा राखेका हुन् ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गरिरहेका पाण्डेयलाई उनले प्रश्न गरे,“एकमात्र अस्थिरता भएको करण अदालतको फैसला भन्ने ढंगको तपाईंको व्याख्या आयो, लिखित जबाफमा पनि त्यही पाइयो । के यो सबै कारण अदालतको फैसला हो कि यसबाहेक अरु कारण पनि छन् ?”
महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गर्दा राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थितरतालाई निम्त्याउने बताएका थिए । मंगलबार पाण्डेयले पनि सोही आशयको तर्क गरेपछि न्यायाधीशले यस्तो प्रश्न गरेका हुन् ।
जबाफमा पाण्डेयले भने,“सबै कारण अदालतको फैसला मात्रै भन्न खोजेका छैनौँ, आदेश पनि एउटा कारण हो ।”