प्रमुख सचेतक भट्टराई भन्छन्– पार्टी परित्याग गरेका भुसालको सांसद् पद रहँदैन

517

काठमाडौं । नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले डा.बेदुराम भुसालको सांसद् पद गुमेको बताएका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् राष्ट्रियसभाका सदस्य भुसालले आइतबार संसद् सचिवालयमा आफूले एमाले त्यागेको पत्र दर्ता गराएका थिए । उनले अबदेखि आफू स्वतन्त्र सांसद् भएको उल्लेख गरेका थिए । भुसालको यो भनाइलाई सचेतक भट्टराईले प्रतिकार गरेका छन् । उनले भुसाल स्वतन्त्रा हुन सक्ने तर सांसद् भइरहन नसक्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् भट्टराईले दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता भंग भएपछि दुईमध्ये एक पार्टी रोज्ने छुट भएको तर, स्वतन्त्र बस्ने छुट नभएको कुरा स्मरण गराएका छन् ।

“दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ । त्यसबीचमा निर्वाचित राष्ट्रियसभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद् हुन सक्दैन,” उनले भने, “सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसद्ले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...