माधव नेपालको अपिलः कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लागौँ

243

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् ।

मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आज जारी गरेको विज्ञप्तिमा नेता नेपालले कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

“विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक–आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वानसहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,” नेपालले भनेका छन् ।

उनले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताए । राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अबलम्वन गरिएको उनको भनाइ छ ।

“शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अबलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,” नेपालले भनेका छन् ।

उनले अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरिएको पनि स्मरण गरे ।

उनले भने, “यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःख– सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।”

नेता नेपाल पछिल्लो समय विपक्षी गठबन्धनमा सक्रिय छन् । नेपालसहित उनी पक्षका सांसद्ले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भावी प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर गरेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई कारबाही गरेका थिए ।

साथै अध्यक्ष ओलीले नेपालको मागअनुसार २०७५ जेठ २ कै संरचनाअनुसार एमाले अगाडि बढ्ने भए देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए । तर, नेपालले कुनैपनि हालतमा फिर्ता लिन नसकिने बताइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...