काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमा बदनियत देखिएको टिप्पण गरेकी छन् ।
प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले १ सय ४९ जना प्रतिनिधिसभा सदस्यको समर्थन लिएर गएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुमा राष्ट्रपतिको बदनियत लुकेको तर्क गरिन् ।
“संविधानको धारा ७६(४) अनुसार विश्वासको मत लिनुपर्नेमा ओलीले नलिइ मार्ग प्रशस्त गरेको तर्ककै आधारमा प्रतिनिधिसभा विघटन गर्नुभयो । कुनै पनि सांसद्ले प्रधानमन्त्री दाबी गर्ने आधार लिएर नियुक्ति पाउने व्यवस्था धारा ७६(५) हो” उनले भनिन् ।
धारा ७६(४)अनुसार विश्वासको मत पाउने सम्भावना नभएको र अधिकार नभएको अवस्थामा प्रधानमन्त्री ओलीले एमाले र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको दाबी गरेकोले उनको त्यो दाबी खारेज गर्नुपर्ने उनले बताइन् ।