प्रचण्डले भने, ‘ओलीपछि देउवा प्रधानमन्त्री हुनुहुन्छ, यो सेटिङ गरेर भनेको होइन’

339

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब शेर बहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले सेटिङ गरेको नभइ संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री हुने बताए ।

“मैले संविधान, नियम र कानुन अनुसार सर्वोच्च अदालतले फैसला गर्छ भन्दा प्रचण्डको सेटिङ भनेछन् । मेरो सेटिङमा नेपाल चल्ने भए त ?” उनले प्रश्न गरे,“हेनुहोला केपीपछि शेर बहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर भनेको होइन । देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन । हामीले उभ्याएका हौँ । साथ दिन्छौँ भनेर ।”

पत्रकार सम्मेलनमा उनले ५ पूर्वप्रधानमन्त्रीको विज्ञप्तिले देश संकटमा पुगेको संकेत गर्ने बताए । प्रधानमन्त्रीको चर्को आलोचना गरेका प्रचण्डले ओली अझै जालझेलमा लागेको बताएका छन् ।

“हामी ५ पूर्वप्रधानमन्त्रीले दिएको विज्ञप्ति बुझ्नेका लागि इसारा काफि छ । पत्रकार साथीहरु हामीलाई धेरै एक्सपोज गर्न नलगाउनुस् । नेतालाई धेरै एक्सपोज गराउँदा देशलाई फाइदा हुँदैन,” उनले भने ।

प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप लगाएका छन् । उनले राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै आक्रोश व्यक्त गरे ।

“राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने ? राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भन्ने हुँ इज केपी ओली ?” उनले आफूले राजा राम्रो भनेको नभइ व्यङ्ग्यात्मक शैलीमा आफ्नो भनाइ राखेको स्पष्ट पारे । “राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ । मैले राजाभन्दा बढी हुन खोज्नु भएन पो भन्न खोजेको हो नि । राज ल्याउनुपर्यो भनेर भनेको त होइन नि ।”

सरकार छिटो बनाउन पाए हुन्थ्यो भन्ने आफूहरुको चाहना नभएको भन्दै उनले अराजक शैलीमा ओली संविधानको विरुद्धमा उत्रिएको आरोप लगाए । उनले प्रधानमन्त्री पदका लागि नभइ लोकतान्त्रिक मूल्य मान्यताका लागि गठबन्धन बनेको बताए ।

“लोकतान्त्रिक मूल्य मान्यताका लागि गठबन्धन आवश्यक भयो । हामी कुर्सी छोडेर देशको हितमा लाग्ने मान्छेहरु हौँ । मैले सार्वजनिक समारोहमा भनेको थिएँ विकास र समृद्धिका लागि नयाँ खाका दिन आवश्यक छ । संविधानको रक्षा गर्नैपर्छ, नत्र देश वर्वाद हुन्छ भनेर हामी लागेका हौँ,” उनले भने ।

डेमोक्रेटिक छलफल गर्न ओलीले मन नपराएको बताउँदै उनले पार्टी एकता सुरु हुनसाथ लढाइँ सुरु भएको समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...