एजेन्सी । अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामा संलग्न प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल सजाय तोकिएको छ ।
अश्वेत व्यक्ति फ्लोइडको हत्यका दोषी पूर्व मिनियापोलिस श्वेत प्रहरी अधिकारी डेरेक शोभिनलाई शुक्रबार साढे २२ वर्षको सजाय सुनाइएको हो । उनलाई ‘थर्ड डिग्री’ हत्यामा दोषी ठहर गरिएको छ ।
४५ वर्षीय शोभिनले अप्रिलमा ४६ वर्षीय फ्लोइडको गर्धनमा साढे ९ मिनेट घुँडाले च्यापेका थिए । फ्लोइडको प्रहरी हिरासतमा मृत्यु भएको थियो ।
दोस्रो डिग्री हत्याको अभियोगमा दोषी ठहर भएका शोभिनलाई अभियोजन पक्षले ३० वर्षको जेल सजाय माग गरेको थियो । तर, मिनेसोटा जेल सजाय निर्देशनालयले शोभिनको कुनै आपराधिक अभिलेख नभएको भन्दै उनलाई साढे १२ वर्ष सजाय दिन सिफारिस गरेको थियो । अदलतले भने उनलाई साढे २२ वर्षको जेल सजाय सुनाएको हो ।