काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अस्थिरता राख्ने प्रबन्ध संविधानमा घुसाइएको बताएका छन् । नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र विष्टसँग बिहीबार राति विषेश संवाद गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । संविधानले स्थिरताको परिकल्पना गरेको तर, ग्यारेन्टी नगरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको संवैधानिक व्यवस्थाले एउटै दलको बहुमत आउन धेरै मुस्किल हुने बताए । “यो संवैधनिक व्यवस्थामा भरसक बहुमत आउन सम्भव छैन । नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै नै घुसाइएको छ,”ओलीले भनेका छन्,“दुई वा दुईभन्दा बढी दल मिलेर नै नेपालमा सरकार बनाउने हो । नेपालजस्तो राजनीतिक संस्कार कमजोर भएको ठाउँमा धेरै भरपर्दो हुन सक्दैन ।”
संवैधानिक व्यवस्थाका कारण संसदबाट प्रधानमन्त्री छानिने ठाउँमा त्यो प्रधानमन्त्री छानिरहने अवस्था, सत्तारुढ दल फेरिने मात्रै होइन, निर्वाचनमा जानु अपरिहार्य हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “प्रतिनिधिसभाबाट प्रधानमन्त्री छानिने अवस्था भएपछि २ वर्ष अविश्वास राख्न नपाउने भनेको २ वर्ष ढुक्क भएर काम गर्न दिने अवस्था छ र ?” प्रधानमन्त्री ओलीले भने,“एक महिनाभित्रै प्रधानमन्त्री असफल हुन सक्छ । सरकार गठन हुन सक्दैन ।”
प्रधानमन्त्री ओलीले दलहरुबीच कुरा नमिलेमा र कसैको नआएको आवस्थामा एउटा निर्वाचन सकिएको एक महिनापछि नै अर्को निर्वाचनमा जानु पर्ने स्थिति आउने प्रधानमन्त्री ओलीले बताए । “दुई वा दुईभन्दा बढी दलको समर्थन भएन भने देश स्वतः निर्वाचनमा गएनः ठूलो दलको हैसियतले ३० दिनमात्र हो चलाउन पाउने” प्रधानमन्त्री ओलीले भने,“३० दिनमा त विश्वासको मत लिनुपर्छ, विस्वास पाउँदैन, त्यसपछि गएन चुनावमा ?”