काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीमा ओलीमोह देखिएको तर्क गरेका छन् । उनले राष्ट्रपतिले केपी शर्मा ओलीबाहेक अरु प्रधानमन्त्री बन्न पाउँदैनन् भन्ने हिसाबले काम गरेको आरोप लगाएका छन् ।
“राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ । विद्यादेवी भण्डारीले ओलीको मात्र होइन । ३ करोड नेपालीको राष्ट्रपति हो,”उनले भने ।
प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतमा जारी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता दाहालले बहुमत पुग्दा पनि दलीय हैसियत खोज्ने अधिकार राष्ट्रपतिलाई कसले दियो ? भन्दै प्रश्न गरेका छन् ।
“राष्ट्रपतिले सूचना एउटा जारी गर्नुभएको छ,” उनले भने,“फेरि उहाँले दलीय हैसियत नपुगेको भन्नुभएको छ । उहाँलाई संविधानले ७६(५) मा पुगेपछि दलीय हैसियत खोज्ने अधिकार कसले दियो ? उहाँहरुले अहिले फेरि निर्दलीय अभ्यास भन्दै हुनुहुन्छ । सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई यसरी खिसिट्युरी गर्न मिल्छ ?”