राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ प्रथम

576

काठमाडौं । राष्ट्रिय कविता महोत्सवमा वाचित कविताहरूमध्येबाट भोजपुरकी कवि कविता राईको ‘देशको नक्सा’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ ।

यसैगरी धादिङकी कवि अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकको कविता द्वितीय बन्न सफल भएको छ । यसरी नै ताप्लेजुङकी कवि सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी कवि निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका कवि प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविताले तृतीय स्थान प्राप्त गरेका छन् ।

महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदक, सम्मानपत्र र ५० हजार नगद, द्वितीयलाई कास्य पदक, सम्मानपत्र र ४० हजार नगद तथा तृतीय हुनेलाई रजत पदक, सम्मानपत्र र जनही ३०÷३० हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा विजयी कविहरूलाई राष्ट्रपतिका हातबाट पुरस्कार प्रदान गरिने छ ।

कविता महोत्सवको कविता छनोट समितिको संयोजकमा प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा. हेमनाथ पौडेल तथा सदस्यहरूमा प्राज्ञ धु्रव मधिकर्मी र डा. विन्दु शर्मा रहेका थिए ।

वार्षिकोत्सवका अवसरमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत १५ कर्मचारीलाई जनही ३० हजार रुपैयाँसहित दीर्घसेवा पुरस्कारबाट सम्मानित गरे। यसरी सम्मानित हुने कर्मचारीहरूमा राजेन्द्रकुमारी शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाई, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगानी लामिछाने, मैया महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचिकार रहेका छन् ।

कुलपतिले पदक र सम्मानपत्र भने परिस्थिति अनुकूल भएपछि आयोजना गरिने वार्षिकोत्सव समारोहमा प्रदान गरिने बताए । कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार एवम् डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...