‘राष्ट्रपतिले जसरी पनि ओली नै प्रधानमन्त्री हुनुपर्छ भनेझैँ गर्नुभयो’

315

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता देखाएको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका १ सय ४६ सांसद्को तर्फबाट हालेको रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा भाग लिँदै बन्दीले ५ प्रश्न उठाए ।

१. राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आएको दाबी इन्कार गर्न मिल्छ कि मिल्दैन ?
२. ७६(३)को प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेपछि फेरि ५ अनुसार प्रत्याशी बन्ने र दाबी गर्ने अधिकार राख्छ कि राख्दैन ?
३. ७६(५)को प्रधामन्त्री नियुक्त गर्ने प्रक्रियामा राजनीतिक दलको ह्विप लाग्छ कि लाग्दैन ?
४. राजनीतिक दलसम्बन्धी ऐन यसमा आकर्षित हुन्छ कि हुँदैन ?
५. ७६(३) अनुसार बनेको र त्योभन्दा पहिले नै विश्वास गुमाएको प्रधानमन्त्रीले विघटन गर्न सक्छ कि सक्दैन ?

प्रधानमन्त्रीमा देउवाको दाबी अस्वीकृत गर्दा राष्ट्रपतिको कार्यालयले दोहोरो हस्ताक्षर पर्यो, नाम दोहोरियो, दलको निर्णयविपरीत हस्ताक्षर गरेको उल्लेख गरेको भन्दै अधिवक्ता बन्दीले भने,“बहुमत १ सय ३६ हो । १ सय ४९ सांसद् हस्ताक्षर छ । १ सय ४६ त आदलत आउनुभएको छ । योभन्दा बलियो आधार के चाहियो ?”

राष्ट्रपति संविधानभन्दा बाहिर गएको र राजनीतिमा प्रवेश गरेको उनले बताए । “संविधानको धारा ७६(५) मा राजनिितक दलसम्बन्धी ऐन लाग्छ भनेर कुन कानुनमा लेखेको छ ?” उनले भने,“एमाले केन्द्रीय समितिका माधव कुमार नेपाल र झलनाथ खनालको बहुमत पुग्दैन भन्ने राष्ट्रपति को ?”

जसरी पनि ७६ (५)को प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्छ भन्ने मानसिकता राष्ट्रपतिमा देखिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...