ओलीको कदमले राष्ट्र गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

324

काठमाडौं । विपक्षी गठबन्धनले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् । विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव कुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै सरकारले स्वतन्त्र न्यायापालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको आरोपसमेत लगाएका छन् ।

“स्वतन्त्र न्यायापालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको छ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लङ्घन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानुन र न्यायसँग असंगत व्यवहार प्रर्दशन गर्नु चिन्ताको विषय हो । यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्याउँछ । यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ,” विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभाको २ पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कुटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा एवम् राहत प्रदान गर्न सरकार असफल भएको दाबी गठबन्धनको छ ।

Share This:
सम्बन्धित खबर
Loading...