देश र संविधानलाई दुर्घटनाबाट बचाउन हरसम्भव लागिरहेको छु : प्रचण्ड

159

चितवन । नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र भरतपुर ७ को आयोजनामा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका पिता स्वर्गीय पण्डीत हरिप्रसाद पौडेलको सातौँ दिनको श्रद्धाञ्जल सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

देशमा स्थिरता आवश्यक ठानेर आफू कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न वाम गठबन्धनको र पार्टी एकताको पनि पहिलो प्रस्तावक भएपनि ५ वर्ष नपुग्दै झन्डै दुई तिहाइ नजिकको कम्युनिस्ट छिन्नभिन्न हुनुले दुःखित बनाएको प्रचण्डको भनाइ थियो । आफू सदैव देश र जनताको एकताको पक्षमा र राष्ट्रको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर हिँडिरहेको बताए ।

देशमा सोच्दै नसोचेको तरिकाले राजनीतिक घटनाक्रम भएको र धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झन्डै धरासायी हुने हो कि भन्ने खतरासँगै देशै के हुने हो भन्ने स्थिति आएको उनको भनाइ थियो ।

यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुनै नदिने प्रचण्डको भनाइ छ ।

“तपाईंहरु सबै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिँदैनौँ । धेरै नेपाली जनता सचेत रहेकाले र राजनीतिक दलभित्र पनि नेता कार्यकर्ता राष्ट्रप्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियतामाथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ,” प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...