टिपरको ठक्करबाट कांग्रेस धनकुटाका सचिवसहित २ जनाको मृत्यु

367

विराटनगर । मोरङको विराटचोकमा आइतबार भएको सडक दुर्घटना नेपाली कांग्रेस धनकुटाका सचिवसहित २ जनाको मृत्यु भएको छ ।

आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पार्खिबासका ५० वर्षीय कृष्ण बहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपू शाहको मृत्यु भएको हो ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीम बहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरेका विराट नर्सिङ होम रेफर गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को३६प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिँदा बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार को२९प९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए । दुई जनाको उपचारका क्रममा विपी प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनापछि टिपर चालक फरार छन् । टिपरको नम्बर पनि खुलेको छैन । रातको समयमा तीव्र गतिमा हुइकिएको टिपरको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...