केन्द्रीय समिति विस्तार गर्ने तयारीमा माओवादी केन्द्र

170

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनःगठन गर्ने भएपछि केन्द्रीय समिति विस्तार गर्ने भएको छ ।

सर्वोच्च अदातले गत फागुन २३ गते नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले दिएको आधिकारिकता खारेज गरिदिएपछि माओवादीले पुनःगठन गर्ने क्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्याउन लागेको हो ।

तत्कालीन नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय जना सदस्य थिए ।

अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएपछि माओवादीले २ सय ९९ जना सदस्यीय केन्द्रीय समिति बनाउन लागेको हो ।

माओवादीका २ सय जना केन्द्रीय सदस्यमध्ये १८ जना एमाले प्रवेश गरेकाले त्यसलाई समेत थप गरेर केन्द्रीय कमिटी बढाउन लागेको माओवादीले जनाएको छ ।

माओवादीले समावेशीसहितको जुझारु नयाँ केन्द्रीय समिति बनाउन प्रदेश र जिल्ला कमिटीलाई नाम पठाउन निर्देशन दिएको छ ।

नयाँ थपिने १ सय १७ जना केन्द्रीय सदस्य जनजाति, मधेसी, दलित, मुस्लिम र अल्पसंख्यकलगायत सबै समुदायको समेटिने गरी नाम पठाउन भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...