‘प्रदेशसभालाई जोगाउन विश्वासको मत दिनुको विकल्प छैन’

245

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका थिए ।

प्रदेशसभामा मन्तव्यसहित विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्ष २०७८/७९को बजेट ल्याएको चर्चासमेत गरे ।

राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरुमाथि थप जिम्मेवार आइपरेको भन्दै उनले संघीयतालाई मजबुत बनाउनका लागि आफू दृढ संकल्पित रहने बताए । जनताले ५ वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनै पनि दृष्टिले उपयुक्त नहुने उनको भनाइ थियो ।

आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायीत्वमा जाने एकमात्र विकल्प रहेको भन्दै उनले बीचमा सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिकरुपमा पनि नरहेको प्रष्ट पारे ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।

गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...