काठमाडौं । नेकपा (एमाले)भित्र सहमतको बिन्दु पहिल्याउन बिहीबार साँझ पनि करिब दुई घन्टा बैठक भएको छ ।
संस्थापनतर्फबाट कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार हिजो समिट होटलमा साँझ साढे ६ बजेदेखि दुई घन्टा छलफल भएको हो ।
“सहमतिको बिन्दु पहिल्याउन र पार्टीलाई एकताबद्ध बनाएर लैजान हामी निरन्तर लागेका छौँ,” नेम्वाङले भने, “धेरै कुरामा सहमति भएको छ । सबै सहमति एकमुष्टरुपमा बाहिर आउँछन् । छलफलको क्रममा रहेकाले अहिले धेरै कुरा भन्न मिल्दैन ।”
आफूहरुले बनाउँदै गरेको सहमति पार्टीभित्रबाटै कसैले भत्काउनले प्रयास पनि गरिरहेकोले छलफलले धेरै समय लिएको नेम्वाङले बताए । तर, कसले कसरी पार्टी मिल्न अवरोध गरिरहेको छ भन्ने कुरा खुलाएनन् ।