सभामुख सापकोटाको जबाफ : ‘राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन’

568

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुछ १ सय ४६ सांसद्ले दायर गरेको रिटमा लिखित जबाफ बुझाउँदै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभामा १ सय ४९ जना सदस्यसहितको समर्थनसहित संविधानको धारा ७६को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेर बहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको उल्लेख गर्दै सभामुख सापकोटाले भनेका छन्, “राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले दिएको अवस्थासमेत छैन । तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रतिनिधिसभाका जम्मा ९३ सदस्यको समर्थन रहेको पछिल्लो प्रमाणित तथ्य भएको सभामुखले उल्लेख गरेका छन् । यही तथ्यमा टेकेर सभामुखले ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गर्न संवैधानिक र नैतिकरुपले नमिल्ने बताएका छन् ।

“सार्वजनिकरुपमै प्रतिनिधिसभाको विश्वास आफूमाथि नरहेको स्वीकार गर्नु भएका प्रधानमन्त्रीज्यूले पुनः संविधानको धारा ७६(५) बमोजिम आफूमाथि बहुमत सदस्यको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्नु संवैधानिक र नैतिकरुपले मिल्ने होइन,” सभामुखले जबाफमा उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...