काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव समूहले बोलाएका सबै बैठक अवैधानिक हुने जिकीर गरेका छन् ।
अध्यक्ष ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै यादव पक्षले आजका लागि बोलाएको भनिएको कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताएका हुन् ।
उपेन्द्र यादवले बोलाएको बैठकबाट हुने कुनैपनि निर्णय पार्टीको आधिकारिक निणर्य हुन नसक्ने ठाकुरको जिकीर छ । ठाकुरले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुन निर्देशन समेत दिएका छन् ।
यससम्बन्धी जानकारी ठाकुरले निर्वाचन आयोगमा समेत पठाएका छन् । जसपामा विवाद चर्किएको बेला ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति हेरफेर गरेपछि यादव समूह थप झस्किएको छ ।
निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता दिनुपर्ने माग गरिरहेको यादव समूह आयोगविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।