माओवादी रोजेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण

325

दाङ । दाङ क्षेत्र नम्बर ३(क) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा (एमाले)ले ३ दिने स्पष्टीकरण सोधेको छ ।

जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि बिमलाले गत वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

स्पष्टीकरणमा पार्टी रोज्नु अगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागि भइसकेपछि बिमलाले रोज्न पाउने हक गुमाइसकेको उल्लेख छ । पार्टीको ह्विपविपरीत सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको कारण खोज्दै एमालेले ‘तपाईंमाथि कारबाही किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेको छ ।

नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको दुर्घटनाबाट निधन भएपछि ओली पत्नी बिमला नेकपाको तर्फबाट उम्मेदवार भइ प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...