आन्दोलित ट्यांकर चालकलाई कोरोना खोप दिन सरकार सहमत, आन्दोलन फिर्ता

253

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरुको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको हो । बुधबार एपिएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।

उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक र सहचालकले कोरोना खोप पाउनेछन् ।

यस्तै, अमलेखगञ्जका झन्डै १ हजार ४ सय चालक तथा सहचालकलाई उतै खोप दिन सहमति भएको अध्यक्ष लामाले बताए ।

आन्दोलित ट्यांकर चालक र सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृतमा विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...