धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्विप उल्लङ्घन गरेको भन्दै केपी शर्मा ओली समूहका ७ जनालाई निलम्बन गरेको हो ।
माधव कुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्विप जारी गरेको थियो । तर, ओली पक्षका सांसद् लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठनसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि संसदीय दलका नेता प्रकाश बहादुर शाहले स्पष्टीकरण सोधेका थिए । साथै उनीहरुले ह्विपविपरीत सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।
सोमबार बसेको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।