श्रीमतीकै योजनामा माओवादी नेता दीपक पाण्डेको हत्या, ११ जना पक्राउ

243

कपिलवस्तु । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ ।

सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाव दिएर पाण्डेको हत्या गरेको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमती महिमाबीच ५ वर्षदेखि सम्बन्ध रहँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवैबीचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान् श्रीमतिबीच मनमुटाव आएको थियो । मृतक पाण्डे र यादबबीच पनि सम्बन्ध बिग्रिएको र दीपक दुवैका लागि समस्या हुन थालेपछि हत्याको योजना बनाइएको प्रहरीले जनाएको छ ।

पटक–पटक हत्याको योजना बनाउन श्रीमतीले ओमप्रकाशलाई दवाव दिएपछि थेग्न नसकेर घटना गराइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । लामो समयदेखि पाण्डेमाथि गरेको निगरानी र मुभमेन्टका कारण गते जेठ ५ गते राति करिब ११ बजेतिर गोली प्रहार गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–६, गोबरीमा उनीमाथि ३ जनाले गोली प्रहार गरेका थिए । सख्त घाइते पाण्डेको जेठ १० गते शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको अधिकारीले बताए ।

हत्यामा रमजान साह मुसलमान, साकिर अली पखिया र ओमप्रकाश संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको पेस्तोल खरिद गर्न, ओसारप्रसार र घरमा लुकाइछिपाई राख्न सहयोग गर्ने ७ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १, कैलाश टोलका पुर्णविर पाल्पाली, कपिलवस्तु नगरपालिका २, बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभिटवाका ज्ञानेन्द्रकुमार पाण्डे र वडा नम्बर ४ सेमरीका राधेश्याम चौधरी रहेका छन् ।

त्यस्तै, कपिलवस्तु नगरपालिका ५, गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका १, मस्जिदटोलका नसरल अली र कपिलवस्तु नगरपालिका २, बर्दहवाका प्रवीण गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...