मुख्यमन्त्री राईले भने– खुवालुङ ढुंगा मात्रै होइन किराँत समुदायको सभ्यतासँग जोडिएको छ, यसको संरक्षण गर्नुपर्छ

404

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले किराँत समुदायको सांस्कृतिक महत्व बोकेको खुवालुङ ढुंगाको संरक्षण गर्ने बताएका छन् ।

संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनमा रहेको अवरोध हटाउने उल्लेख भएकाले किराँत समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् । आइतबार प्रदेश नम्बर १को प्रदेशसभामा सांसद्हरुले उठाएको प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङको संरक्षण गर्ने बताएका हुन् ।

“हामीले थाहा पाउनुपर्छ, बुझ्नुपर्छ खुवालुङ ढुंगा मात्रै हो भने फुटाउन योग्यभित्र पर्थ्यो,” उनले भने,“तर, त्यो ढुंगा मात्र होइन रहेछ, किराँत समुदायको संस्कृतिसँग, मुन्धुम र सभ्यतासँग जोडिएको ढुंगा रहेछ भन्दा कसरी फुट्छ ?”

मुख्यमन्त्री राईले खुवालुङ संरक्षण गर्नुपर्ने बताए । “त्यस ठाउँको संरक्षण गर्नुको विकल्प छैन, किनभने त्यो ढुंगा मात्रै होइन रहेछ,” उनले भने,“अरु ढुंगाहरु कहाँकहाँ छन् पन्छाउनुपर्छ, फुटाउनुपर्छ ।”

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा अरुण, तमोर र दूधकोसीको संगममा रहेको ठूलो ढुंगा खुवालुङको नामले प्रसिद्ध छ । संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएको थियो । तर, किराँत समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको भन्दै फुटाउन नहुने माग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...