काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर, उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।
सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत र एकजना सांसद मतदानमा सहभागी नभएको सुनाए ।
मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ‘दीपक मनाङे’ अनसपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापा तटस्थ रहे ।