कास्की । गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ , त्यसैका लागि उनले जेठ २५ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
कुल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसद्को समर्थन आवश्यकता पर्दछ ।
प्रदेशसभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद् छन् ।