जनमोर्चा सांसद्को पुनःबहालीविरुद्ध पुनरावलोकन मुद्दा दर्ता

337

काठमाडौं । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापालाई सर्वोच्चले पुनःबहाली गरेपछि त्यसमा पुनरावलोकन मुद्दा परेको छ ।

सर्वोच्चको आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन निवेदन दिएको दलकी नेता पियरी थापाले जानकारी दिइन् । जनमोर्चाको उक्त पुनरावलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ भने सोको पेशी बिहीबारका लागि तोकिएको छ ।

पार्टीको निर्णय र ह्विप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद् थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा थापालाई दलले कारबाही गरेको जानकारी आएको सूचना पढेपछि थापा सांसद् पदबाट पदमुक्त भएका थिए ।

त्यसविरुद्ध थापाले दिएको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधी डा.कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन आन्तरिम आदेश दिएको हो ।

रिटमा थापाले विपक्षी बनाएका जनमोर्चा, उसको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख अधिकारीलगायत विपक्षीले पुनरावलोकन निवेदन दिएको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...