काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक मंगलबार ५ घन्टासम्म भएको छ । साँझ ५ बजेदेखि भएको बैठक राति १० बजेसम्म भएको सहभागी नेताहरुले जानएका छन् ।
प्रधानमन्त्रीले २०७५ जेठ २मा पार्टीलाई फर्काउने प्रतिबद्धता गरेपनि माधव कुमार नेपाल पक्षले विवाद समाधानभन्दा विभाजनलाई जोड दिएको संस्थापन पक्षका नेताहरुको भनाइ छ । मंगलबार कतिपय नयाँ र कतिपय पुरानै विषयमा छलफल भएको र निरन्तर विवाद समाधानका लागि लागेको संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले बताए । छलफलमा उठेका विषयले आकार लिएपछि बाहिर आउने उनले बताए ।
कार्यदलका अनौपचारिक बैठकहरु घन्टौँ लामो हुने गरेका छन् । दुईहप्ता अघि याक एन्ड यतिमा भएको छलफल पनि ५ घन्टा भएको थियो । मंगलबार पनि पाँचै घन्टा छलफल भयो ।
“मंगलबार चाहिँ एउटा भीमलाई विस्थापन गर्दै अर्को भीम आउनुभयो । उहाँ यस अघिका छलफलमा सहभागि नभएकाले उहाँलाई अहिलेसम्मको प्रगति बुझाउन केही समय लाग्यो,” छलफलमा सहभागी एक नेताले भने,“छलफल सामूहिक मात्र होइन त्यहाँ एक्लाएक्लै र दुई–दुई जनाबीच पनि हुने गरेको छ ।” भीम राववदे नेतृत्व गरेको कार्यदल भंगप्रायः भएका बेला भीम आचार्य वार्तामा बसेका छन् ।
छलफलमा संस्थापनबाट नेत नेम्वाङले तपाईंहरुका माग पूरा भइसके भनेर अडान लिइरहे भने घनश्याम भुसालले प्रधानमन्त्रीको आह्वानमा प्रयोग भएको भाषा काइते छ भनेर तर्क गरिरहे । “हामी एकताका लागि रहने, दुवै पक्षका एकथरी नेताहरु एकता नहोस भनेर लागिरहने,” सहभागी एक नेताले भने,“पार्टीका नेताहरुको यो मनोदशा देखेर दिग्दार लागेको छ ।”
सारमा मंगलबार भएको बैठकमा संस्थापनले प्रधानमन्त्रीको आह्वानमा सहमत भएर पार्टीलाई बजबुद बनाएर लैजानु पर्ने र सर्वोच्चमा प्रधानमन्त्रीका विरुद्ध बुझाएको हस्ताक्षर फिर्ता गर्नुपर्ने अडान लिइरह्यो । नेपाल पक्षले भने प्रधानमन्त्रीको आह्वानमा काइते भाषा प्रयोग भएको त्यसलाई सच्याउनु पर्ने, पार्टीको बैठकले माधव नेपाललगायतलाई गरेका कारबाही निःशर्त फिर्ता गर्नुपर्ने विषयकै आसपासमा छलफल चलेको छ ।
समानान्तर कमिटीलाई व्यवस्थापन गर्ने विषयमा पनि व्यापक छलफल भएको नेताहरुले जनाएका छन् । त्यसमा जेठ २ गते भएका जिल्ला अध्यक्षलाई संयोजक मानेर जुन पक्षले बनाएको समानान्तर कमिटी भएपनि त्यसका अध्यक्षलाई सहसंयोजक मान्ने विषयमा दुवै तर्फका नेताहरु सहमति नजिक पुगेका छन् । जनवर्गीय संगठनका हकमा पनि यही कुरा लागु हुने विधि बनाइएको छ ।
वार्तामा संस्थापन पक्षका तर्फबाट सुवस नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सहभागी भएका थिए ।