प्रचण्डले भने– सर्वोच्चबाट प्रतिनिधिसभा पुनः स्थापना हुन्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् ।
मंगलबार नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अदालतले संविधान हेर्ने भएकाले संसद् पुनः स्थापना हुने बताएका हुन् ।
“अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । संविधानअनुसार अहिले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन,” उनले भने,“ओलीले पुस ५मा पनि संसद् विघटन गरे, हामीले लडेर संसद् फिर्ता ल्यायौँ, त्यसबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगोरुपमा संसद् विघटन गरिएको छ, संसद् पुनःस्थापना हुन्छ ।”
पहिलो चोटी गरिएको संसद विघटनको बेला नेपाली कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले भने,“पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थिए । अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन् । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौँ । जनमोर्चा पनि साथमा छौँ ।”
अदालतबाट संसद् पुनःस्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरे । संविधान र लोकतन्त्र रक्षाका लागि ५ दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि उनले बताए ।
त्यस्तै, केपी ओली र उनीसँग सम्बद्ध विदेशी शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाइ थियो । त्यसअघि प्रचण्डले भने,“हामीलाई एक्लो पारेर सिध्याउन खोज्नेहरु नै क्षतविक्षत पारेर सिद्धिने ठाउँमा पुगेका छन् ।