काठमाडौं । नेकपा (एमाले)का नेता बामदेव गौतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिको विरोध जनाएका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेका मुक्ति आन्दोलनका सम्बन्त्रमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको बताएका छन् ।
गौतमले लेखेका छन्, “नेपाल सरकारका उपप्रधानमन्त्री एवम् जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्म विपरीत कार्य गर्नेछैन भनी शपथ ग्रहण गरेको आधा घन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।”
राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने उनले बताएका छन् । “नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु,” गौतमले भने ।