काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ बोलाएका छन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारबा लागि‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो ।
प्रतिनिधिसभा वघटनविरुद्ध विपक्षी गठबन्धनका सांसद्हरुले दिएको मुद्दामा आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेज बहादुर केसी र बम कुमार श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने तर्क रिट निवेदकतर्फका कानुन व्यवसायीहरुले गरेका थिए । केसी र श्रेष्ठले मंगलबारको संवैधानिक इजलासमा आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए । सोही इजलासमा न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने घोषणा गरेका थिए ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासमा तोकिएका दुईजना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश जबराले २३ गते अर्को इजलास तोकेका छन् ।