खनाल–नेपाल पक्षीय १७ जनसंगठनको चेतावनी– जेठ २ मा निःशर्त फर्कियोस्, नफर्के पार्टी विसर्जन [पूर्णपाठ]
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहका १७ वटा भ्रातृ संगठनहरुले पार्टी र जनसंगठनहरुका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा नफर्किए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् ।
बिहीबार संयुक्त वक्तव्य जारी गर्दै ती जनसंगठनका प्रतिनिधिहरुले जेठ २ मा पार्टी नफर्काउने हो भने नयाँ ढंगले पार्टी पुनःगठन गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।
त्यसो त केही दिनअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट जनसंगठन प्रमुखहरुले संसद् विघटनविरुद्ध वक्तव्यबाजी नगर्ने चेतावनी दिएका थिए ।
“हामी चाहन्छौँ, आम नेता तथा कार्यकर्ता चाहन्छन्, एकताबद्ध नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिस्ट आन्दोेलन सुदृढ बनोस । हामी चाहन्छौँ–नेकपा एमालेकै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस् । यसको निम्ति पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस् । यदि त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ । यदि त्यस्तो अवस्था आए हामी त्यसो हुन दिने छैनौँ । जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिबद्धता र दृढताकोसाथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ,” खनाल–नेपालनिकट जनसंगठनहरुले निकालेको सामूहिक विज्ञप्तिमा भनिएको छ ।
आफूहरु अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको भन्दै उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएकाले ओलीले गरेका सबै निर्णय खारेज हुनुपर्ने मागसमेत गरेका छन् । “प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतारा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिस्ट आन्दोलन संकटमा परेको छ । तसर्थ, व्यवस्था र संविधानको रक्षा गर्दै नेकपा (एमाले) र कम्युनिस्ट आन्दोलनलाई बचाउनु आजको हाम्रो प्रमुख चुनौती बनेको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ,“संविधान, पार्टी विधान र पद्धतिविरुछ गरिएका सम्पूण निर्णयहरु सच्याएर सुदृढ र एकताबद्ध नेकपा (एमाले) निमार्णका लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौँ ।”
एमाले जनसंगठन विज्ञप्ति