काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्नेलगायत निर्णय गरेको हो ।
त्यसका लागि राष्ट्र बैंकले त्यसमा सहजीकरण गर्ने सिसिएमसीले जनाएको छ ।
साथै, बैठकले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीले सञ्चालन गर्न सकिने समेत बताएको छ ।
बैठकले कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्न भनेको छ ।
त्यस्तै, बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने निर्णय पनि गरेको छ ।
यस्ता छन् निर्णय :
(क) आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्ने:
(१) निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने ।
(२) अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने ।
(३) काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने ।
(ख) उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्ने:
(१) कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने ।
(२) कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
(३) सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने ।
(४) आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने ।
(ग) क्वारेन्टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्ने ।
(१) काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने ।
(२) होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।
(३) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल Deport गर्ने प्रक्रिया अघि बढाउने ।
(४) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने ।
(५) होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने ।
(घ) जनचेतनासम्बन्धमा देहायबमोजिम गर्ने ।
(१) आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित/प्रकाशित गर्न अनुरोध गर्ने ।
(२) सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने ।