काठमाडौं । सरकारले मतदातालाई खुसी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भइरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।
अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम तथा नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ । कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । समग्र सरकारले वितरणमुखी बजेट बनाएको छ ।
बजेटमा समेटिएका केही लोकप्रिय कार्यक्रम यस्ता छन्ः
सरकारी कर्मचारीको तलब बढ्यो
सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँका दरले बढाएको हो । उक्त तलब साउन १ गतेदेखि लागु हुनेछ । महँगीभत्ता यथावत राखिएको अर्थमन्त्री विष्णप्रसाद पौडेलले जानकारी दिए ।
वृद्धाभत्ता मासिक ४ हजार
सरकाले ज्येष्ठ नागरिक भत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले अब वृद्धाभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिएका हुन् । उनले सबै किसिमका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिए ।
सरकारी कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने
सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउँदा प्याकेज घोषणा गरेको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै, विदेशी पर्यटकलाई एक महिनको भिसा शुल्क छुट दिएको छ ।
सुरक्षाकर्मीको रासन भत्ता बढ्यो
सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाएको हो ।
सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क
सरकारले देशभित्रका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गरेको छ । अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका प्रत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री पौडेलका अनुसार स्नातक, स्नातकोत्तर जा त्योभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।