ओलीले सिंगो कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने पात्रका रुपमा आफूलाई स्थापित गरे : खनाल

446

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघट गरेर संवैधानिक ‘कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका छन् ।

शनिबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको खनालले बताए ।

पूर्वप्रधानमन्त्री खनालले ओलीले आफूहरु जस्ता हजारौँ लाखौँ कार्यकर्ताको बलिदानबाट बनेको पार्टीलाई दलाल पूँजिपति वर्गको पार्टी जस्तो बनाउँदै बिचौलियाका, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाए ।

ओलीले निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीका दण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेको उनको भनाइ छ ।

खनालले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिंगो देशलाई एकतावद्ध बनाउन प्रतिगमनविरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने उनको जोड छ ।

यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रण्नका लागि एकतावद्ध भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबैमा उनले आह्वान गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...