भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा मुद्दा

सहमतिपछि चिकित्सक काममा फर्किए

277

काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ३ जनाविरुद्ध स्वास्थ्यकर्मीहरुले किटानी जाहेरी दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका–११का मान बहादुर रावत, भरत रावत र लोकराज रावतविरुद्ध किटानी जाहेरी परेको बाँकेका प्रहरी निरीक्षक (एसपी) ओम रानाले बताए ।

स्वास्थ्यकर्मीहरुले किटानी जाहेरी दिएपछि तीनै जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत बाँके पुर्याएको थियो । अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको एसपी राणाले जानकारी दिए ।

आरोपीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) रवीन्द्र धानुकले बताए ।

बिहीबार राति अस्पतालको आइसियूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आइसियू कक्षमै पसेर चिकित्सक तथा नर्सहरुमाथि कुटपिट गरेका थिए । हात पक्राउ परेका मान बहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोराहरु हुन् ।

स्वास्थ्यकर्मी काममा फर्किए
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डिआइजी रवीन्द्र धानुकले सुरक्षाको‘ग्यारेन्टी’गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागि प्रहरी निरीक्षको कमान्डमा अस्पतालमा २५ जनाको टिम परिचालन गरिएको डिआइजी धानुकले बताए ।

आक्रमण गर्नेलाई कडा कारबाही गर्ने आश्वासपछि स्वास्थ्यकर्मीले काम सुरु गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...