काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली’ भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै दलको अनुशासनभन्दा बाहिर गएर नीतिहीन गठबन्धन बनाइ त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली भएको बताएका हुन् ।
आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको साध्य नभएको भन्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गरे । आफूले सांसद्हरुको अस्वस्थ गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नेहरुले जनताको सार्वभौम सत्तालाई अस्वीकार गरेको आरोप लगाए । “ताजा जनादेशमा जानु प्रतिगमन होइन । निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौम सत्तालाई अस्वीकार गर्नु हो । नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनीतिक झेली काम हो,” उनले भने ।
ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरुको फेहरिस्ता पनि प्रस्तुत गरे । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरुका बारेमा जानकारी गराउँदै आफूले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अवलम्बन गरेको दाबी गरे ।