काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानबिन हुने बताएका छन् । उनले दोषीलाई कारबाही गरिनेसमेत बताए ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले भनेका छन्,“बाँकेको भेरी अस्पतालमा घटेको दुःखद् घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ ।”
घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मान बहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ का ५४ वर्षीय रावतका दाइको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनीहरुले आइसियू कक्षमै डाक्टर र नर्सहरुमाथि आक्रमण गरेका थिए ।
उनीहरुको आक्रमणबाट डा. दीपक गुप्ता, डा.चन्द्रप्रकाश साह, डा.समा अनसारी, स्टफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जनाएको छ ।