काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।
गत जेठ ५ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति करिब ७ बजे मृत्यु भएको थियो ।
स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।
उनका अनुसार मृतकका आफन्तले डा. चद्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदीक्षा गैरेमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि अस्पताल तनावग्रस्त भएको थियो । आक्रोशित आफन्तले अस्पतालको आइसियू कक्षमासमेत तोडफोड गरेका छन् ।
चिकित्सक र नर्समाथि आक्रमण गर्ने ३ जना मृतकका आफन्तलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।