काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेरी अस्पताल नेपालगञ्जका चिकित्सक र नर्सहरुमाथि आक्रमण गर्नेलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पदनरात खटिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
“नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,” उनले फेसबुकमा लेखेका छन्,“हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै साङ्घातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ।”
कोरोना संक्रमणका कारण बिहीबार राति एक जनाले ज्यान गुमाएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गर्ने लगायत स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेका थिए ।