काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्दैछन् । मंगलबार दिउँसो संसद् भवन बानेश्वरमा उनले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद् विघटनबारे पूर्वसभामुखहरुसँग छफफल गर्न लागेको जानकारी दिए ।
सभामुख सापकोटाले संसद् विघटन असंवैधानिक भएको भन्दै यसविरुद्ध उभिन अपील गरिसकेका छन् । उनी पहिलो पटक संसद् विघटन हुँदा पनि उक्त कदमविरुद्ध उभिएका थिए ।
न्यौपानेले सबै पूर्वसभामुखहरुलाई छलफलका लागि निम्तो गरेको जानकारी दिए । सुवास नेम्वाङ, कृष्ण बहादुर महरा, ओनसरी घर्ती, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगाना पूर्वसभामुख हुन् ।
सभामुख सापकोटाले बोलाएको बैठकमा पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भने नजाने भएका छन् । आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकाले आउन नसक्ने जानकारी गराएको नेम्वाङले बताए ।
पछिल्लो समय सभामुखले सरकारविरुद्ध मुद्दा मामिला गरेर हिँडेको र पार्टीको झन्डा बोक्न थालेको भन्दै नेम्वाङ असन्तुष्ट बनेका छन् ।