काठमाडौं । नेपाल पत्रकार महासंघले संविधानबमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने बताएको छ ।
महासंघका महासचिव रोशन पुरीले शनिबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान तथा संसद्को हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गएराति प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
पत्रकार महासंघले जनतालाई संविधानको प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको महासंघको भनाइ छ ।
यस्तो अवस्थामा जनताको उपचारमा ध्यान दिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिले जालझेलपूर्ण कदम चाल्नु परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ ।
“सम्माननीय राष्ट्रपतिज्यूबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
press release 8 jetha.docx