काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गाविन्द केसीले काठमाडौं विश्वविद्यालयलाई झापाको बिएन्डसी प्रस्ताविक मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालयका पदाधिकारीहरुले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्दै उनीहरुमाथि भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्न माग गरेका हुन् ।
“एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले विज्ञप्तिमा भनेका छन्,“सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गर्ने केयूका उपकुलपति भोला थापालगायतका पदाधिकारीहरु पदीय दुरुपयोगमा चुर्लुम्म भएको प्रमाणित भएको छ । त्यसैले उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्छ ।”
यस्तै, डा.केसीले हाल कायम ऐनका प्रावधानहरु नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयूले अवैधरुपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको आरोप लगाएका छन् ।