काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी ३ साता नेपालका लागि निकै कठिन हुने बताएका छन् । अवस्था जटिल भएकाले घरमै बसेर सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
निस्कनै परे डबल मास्क लगाएर, ६ मिटरको दूरी कायम गरेर सचेततापूर्वक हिँड्डुल गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
“आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दूरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ ।”
उनले ३ हप्ता पछि संक्रमणको दर घट्दै जाने पनि बताए । “यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जाने रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ,” उनले भने,“ यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।”