काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरी प्रतिनिधिसभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसद्हरु पनि मतदानमा सहभागी हुन पाउने भएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको आइतबार बैठकले कोरोना संक्रमित सासदहरुले पनि प्रतिनिधि सभाको विशेष अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबारका लागि विशेष अधिवेशनमा आह्वान गरिएको छ ।
संसद् अधिवेशनअघि गरिएको परीक्षणमा कम्तिमा २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित सासद्लाइ पूर्ण स्वास्थ्यको मापदण्ड अपनाएर मतदानमा सहभागी गराउने निर्णय भएको छ । संक्रमण भएका सासदलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठकमापिसिआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउनेछन् । पिसिआर परीक्षण गर्न बाँकी सांसद् पनि स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने निर्णय कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । विशेष अधिवेशनकै लागि संसद सचिवालयले वैशाख २२, २३ र २४ गते गराएको पिसिआर परीक्षणमा १ सय ४१ जना कर्मचारीहरुलाई समेत संक्रमण पुष्टि भएको थियो ।