उपप्रधानमन्त्री पोखरेल र महावीर पुनबीच भेट, कोरोनाविरुद्वको लडाइँमा खेलेको भूमिकाको प्रशंसा

457

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाइँमा म्याग्सेसे पुरष्कार विजेता एवम् चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन् । कोरोनाविरुद्वको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए । उनकाअनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पिपिई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । वैज्ञानिक पुनले संकटकालिन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे ।

उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उनले बताए ।

उनीहरुबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...