‘भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं, समय छ–फर्कौं !’

726

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी विभाजनको डिलमा पुगिसकेको भएपनि त्यसलाई रोक्न सकिने बताएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको बेला नेता रिजालले पार्टी भित्रबाट अन्तरविरोधमा निषेधको निषेध नभइ समाधान आलोचना र आत्मलोचनाको पद्दतीबाट हुने भन्दै विभाजन रोक्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् ।

नेता रिजालले पार्टी भीरको डिलमा पुगिसकेपनि फर्कन समय रहेको उल्लेख गरेका छन् । “भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ–फर्कौं !”

संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त नभएको भन्दै उनले रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएको बताएका छन् ।

“संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन् । रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए । सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि: दुई कदम पछाडि’ (one step forward: two step back) को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ,” सामाजिक सञ्जालमा उनले लेखेका छन्, “समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ (negation of negation) को नियम लागु हुँदैन र यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद-लेनिनवादले स्पष्ट पारेको छ । अत: भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ- फर्कौं !”

https://www.facebook.com/bishnu.rijal/posts/10226716839533848

Share This:
सम्बन्धित खबर
Loading...